रामनवमी हिन्दु धर्मावलम्बीहरूद्वारा मनाइने एक अत्यन्त महत्वपूर्ण धार्मिक पर्व हो, जुन भगवान श्रीरामको जन्मको सम्झनामा प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मनाइन्छ। भगवान श्रीरामलाई मर्यादा पुरुषोत्तमका रूपमा मानिन्छ, जसले सत्य, धर्म र कर्तव्यपालनको आदर्श स्थापित गरेका थिए। उनी भगवान विष्णुको सातौं अवतारका रूपमा पूजिन्छन्।
रामनवमीको धार्मिक महत्व अत्यन्त गहिरो छ। त्रेतायुगमा रावणको अत्याचारले गर्दा पृथ्वीका देवता र मानव दुःखमा थिए। त्यो समय भगवान विष्णुले राजा दशरथका घरमा रामको रूपमा जन्म लिएका थिए। उनको जन्म अयोध्यामा भएको थियो। श्रीरामले आफ्नो जीवनभर मर्यादा, निष्ठा, सदाचार र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरे। उनले रावणलाई पराजित गरेर धर्मको विजय गरेका थिए।
रामनवमीको दिन भक्तजनहरूले विशेष पूजा अर्चना गर्दछन्। घर तथा मन्दिरहरूमा रामको मूर्ति स्थापना गरी पूजा गरिन्छ। रामचरितमानस, रामायण जस्ता ग्रन्थहरूको पाठ गरिन्छ। धेरैजसो मानिसहरू यस दिन व्रत बस्छन् र फलाहार मात्रै सेवन गर्दछन्। मन्दिरहरूमा भजन कीर्तन, प्रवचन र झाँकी जस्ता कार्यक्रमहरू आयोजना हुन्छन्। विशेष गरेर अयोध्या, जनकपुर, सीतामढी, अयलाल, बागलुङको राम मन्दिर, चितवनको देवघाट जस्ता स्थानहरूमा भव्य मेला लाग्छ। नेपालमा पनि रामनवमी विशेष उत्साहका साथ मनाइन्छ। विशेषगरी मिथिला क्षेत्रको जनकपुरमा यो पर्व धुमधामका साथ मनाइन्छ। जनकपुरलाई सीता माताको जन्मस्थान मानिन्छ र राम(सीताको विवाह यहीँ भएको मानिन्छ। यस दिन जनकपुरमा हजारौँ श्रद्धालुहरूको भिड लाग्दछ। मन्दिरहरूमा विशेष कार्यक्रम हुन्छन्, र राम सीता र लक्ष्मणको झाँकी निकालिन्छ।
रामनवमी न केवल धार्मिक पर्व हो, यो नैतिक शिक्षाको एक माध्यम पनि हो। भगवान रामको जीवनले मानिसहरूलाई सत्य बोल्न, कर्तव्यपालन गर्न, र गलतको विरोध गर्न सिकाउँछ। उनको आदर्श आज पनि समाजका लागि प्रेरणादायी छ। पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनमा रामको आदर्श अपनाउने हो भने समाजमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सकिन्छ।
रामनवमीलाई श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइन्छ।




















