इटहरी : पत्रकार हत्यारालाई कारबाहीको माग राख्दै सुनसरीका पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौंको तिनकुनेमा शुक्रबार समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मारेको घटनाको छानबिन गरि दोशी उपर कारवाहीको माग राख्दै सुनसरीका पत्रकारहरुले शनिबार इटहरीमा विरोध प्रदर्शन गरेका हुन् ।
पत्रकार महासंघ सुनसरी शाखाको अगुवाइमा भएको विरोध प्रदर्शनमा पत्रकारका विभिन्न पेशागत संगठन, अग्रज पत्रकार,मिडिया संचालकहरुको सहभागीता रहेको थियो ।
पत्रकार रजकको हत्यारालाई कारबाही गर, अराजकता बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, सञ्चारगृहमा आक्रमण बन्द गरलगायतका प्लेकार्ड व्यानर बोकेर सुनसरीका पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको गेट अगाडि बाट निकालिएको विरोध ¥याली इटहरी चोक परिक्रमा गरी पुन उपमहानगरको गेट अगाडी आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्नुहुँदै नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष कृष्णबिनोद लम्सालले अराजक समुहले रजकलाई ढोका थुनेर जिउँदै जलाउनु अत्यन्त दुखत भएको बताउनु भयो । उहाँले राउतको हत्यामा संलग्न जोकोही भए पनि अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्नुभयो ।
प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालले आन्दोलनको नाममा अराजक तत्त्वहरुको उत्श्रृंखलताले एउटा श्रमजीवीले ज्यान गुमाउनु पर्दा दुखी भएको बताउनु भयो । सरकारले अराजकता फैलाउने र घटना घटाउने जो कोही भएपनी कारवाहीको दायरामा ल्याउन आग्रह गर्नु भएको छ । उहाँले प्रेस स्वतन्त्रता माथि आक्रमण गर्ने कार्यको निन्दा गर्नुभयो । पत्रकारहरुले केही बेर रजकको पक्षमा नारापनि लगाएका थिए । रजक एभिन्यूज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत थिए ।




















