मूल घर ताहाचल भई हाल चन्द्रागिरिमा बस्दै आएका ३३ वर्षीय सुरेश रजक एभिन्युज टीभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख थिए । १० वर्षदेखि एभिन्युजमा कार्यरत उनी मुख्य घटना तथा राजनीतिक गतिविधिमा आफैं भिडियो खिच्न खटिन्थे ।
एभिन्युजका सम्पादक सुशील पाण्डेका अनुसार राजावादीको आन्दोलनबारे ‘फिल्ड रिपोर्टिङ’ गर्न शुक्रबार पारस श्रेष्ठ र अनिल रायमाझीसँगै क्यामेरा पर्सन सुरेश तीनकुने खटिएका थिए । सुरेशले त्यहाँका गतिविधिको लाइभ भिडियो खिचिरहेका थिए । यसै क्रममा मार्बल हाउस रहेको भवन नजिक हुलदंगा सुरु भयो । सुरेश ‘एक्सक्लुसिभ फुटेज’ खिच्न भवनभित्र पसे । त्यसको केही बेरमा भवनमा आगो दन्कियो । त्यसपछि अश्रुग्यास प्रहार भयो । सञ्चारकर्मी, आन्दोलनकारी तितरबितर भए । भवनभित्र गएका सुरेश सम्पर्कविहीन भए ।
जब भवनको आगो नियन्त्रणमा आयो, चौथो तलाको एउटा कोठाभित्र सुरेशको शव भेटियो । ‘घुँडामाथि सबै जलेको थियो । क्यामेरा पनि जलेको थियो,’ सम्पादक पाण्डेले भने, ‘क्यामेराको एसडी कार्ड फेला पार्यौं ।’ बेलुकीपख सुरेशको शव प्रहरीले मुचुल्का उठाई परिवारजन र एभिन्युज व्यवस्थापनलाई बुझायो । शव पोस्टमार्टमका लागि उनीहरूले शिक्षण अस्पताल लगे ।




















