इटहरीः  इटहरीको मुख्य बजार  क्षेत्रमा अव्यवस्थित तारले सुरक्षा जोखीम बढाएको छ । बजार क्षेत्रका बिजुलीका टाँगिएका तारहरूले जोखीम बढाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । 

बिजुलीका पोलमा नेपाल टेलिकम, इन्टरनेट कम्पनी तथा केबल च्यानलहरुले टाँगेका अव्यवस्थित तारले सुरक्षा जोखिम बढाएको छ । 

दुई दिन अघि इटहरीकै ठुलो व्यवसायीक भबन सेन्टर प्लाजामा बिद्युत सट भई आगलागि भए पश्चात यस क्षेत्रका व्यवसायी चिन्तीत बनेका हुन् । इटहरी—६ संगित चौकका कपडा व्यवसायी उत्तम पोख्रेलले अव्यवस्थि तारका कारण आगलागिको खतरा बढेको बताउनु भयो ।

बजार क्षेत्रमा विजुलीका पोलमा टाँगिएका तारहरु भुईसम्मै झुण्डिरहेका छन्, तारको व्यवस्थापन राम्रो छैन यसको व्यवस्थापनमा स्थानिय पालिकाले तत्काल कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । 

पोलमा झुण्डिएका तारहरु सर्ट भएर जल्ने तथा पड्कने जोखिम रहेको बजार क्षेत्रका स्थानिय व्यवसायीहरुको भनाई छ । इटहरी—९ बिराटनगर लाइनमा मोबाइल पसलका सञ्चालक श्याम रिजालले पोलमा झुण्डीएका तारको ब्यवस्थापन नगरे जुनसुकै बेला ठुलो दुर्घटनाको जोखिम रहेको बताउनुभयो । 

‘लाखौंको लगानीमा व्यवसाय सञ्चान गरिएको हुन्छ,सानो लापरभाईले ठुलो क्षती हुन सक्छ, स्थानिय निकायले बेलैमा समाधान गरिदिनुपर्छ ।’ व्यवसायी रिजालले बताउनुभयो । 

IMG_3342

इटहरीका बजार क्षेत्रमा ब्यवसायीक भवन र सडकका पोल निकै छोटो दुरीमा छन् । यस्ता पोलमा चाहिने भन्दा धेरै तारहरु पोको पारेर झुण्ड्याउने गरेका छन् । 

यसले शहरको सौन्र्दयता पनि विगोरेको छ । इटहरी—६ जनता गल्लीका रेडिमेट कपडा व्यवसायी श्याम भण्डारीले पोलमा झुण्डिएका तारहरूले बजारको सौन्दर्यता बिगारेको बताउनुभयो । 

यता, इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवश पोख्रेल इटहरीमा तार व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताउनुहुन्छ ।  पोलमा एक भन्दा धेरै कम्पनीका तारहरु टाँगिएको र तार चाहिने भन्दा धेरै तार पोको पारेर झुण्ड्याइएको कारण व्यवस्थापन गर्न समस्या भएको प्रवक्ता पोख्रेल बताउनुहुन्छ । 

“एउटा पोलमा कति धेरै तार छन्, कस–कसको तार हो छुट्याउन नसकिने भएकोले यो चुनौती पुर्ण छ ।” प्रवक्ता पोख्रेलले बताउनुभयो । 

यी अव्यवस्थित तारहरुलाई तत्काल अण्डर ग्राउण्ड गर्ने सम्भावना पनि नरहेको भन्दै पोख्रेल उपमहानगरपालिकाले तत्कालका लागि जोखिम कम गर्ने तरिकाले तार व्यवस्थापन गर्ने योजनामा रहेको बताउनुहुन्छ । 

बिजुलीका पोलमा तार बाँध्ने नेपाल टेलिकम, इन्टरनेट कम्पनी तथा केबल कम्पनीहरुले स्थानिय सरकारलाई कुनै जानकारी पनि नदिने गरेको उपमहानगरको भनाई छ ।