काठमाडौंका विभिन्न स्थानमा आज हुने राजावादी र गणतन्त्रवादी प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित चुनौतीलाई ध्यानमा राख्दै गृह मन्त्रालयले सुरक्षा सतर्कता उच्च बनाएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, राजधानीमा २५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। साथै, सुरक्षालाई थप प्रभावकारी बनाउन सादा पोसाकका प्रहरीहरू समेत खटाइएका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरी सुरक्षा निगरानी बढाइएको छ। ट्राफिक व्यवस्थापनका लागि पनि १८ सय प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

सरकारले प्रदर्शनलाई व्यवस्थित गर्न राजावादीहरूका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप प्रदर्शन स्थल तोकेको छ। सुरक्षा संयोजनलाई चुस्त बनाउन थप प्रहरी परिचालनको तयारी समेत गरिएको छ।