फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई पक्राउ गरिएको हो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबू ओलियाले जानकारी दिए । अमेरिकाकी ७० वर्षीया एक महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् ।

उनीसँग लामाको सामान्य चिनजान थियो । ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन् । सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई उनले घरमा लैजान्छु भनेर लगिन् । तर उनले घर नलगी लुकाएर फिरौती माग्न थालिन् । त्यस घटनाको बारेमा नेपालस्थित अमेरिकन दूतावासले कास्की प्रहरीमा खबर पठायो । कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर महिलाको सकुशल उद्धार गरेको हो ।