नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यो वर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । 

पछिल्लो आठ महिनामा एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास ९सोयाबिन० तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, पाँच अर्ब ८३ करोड ७३ लाखको अलैंची, चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ ।

पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ । त्यस्तै, नौ अर्ब ६९ करोड २२ लाख बराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ ।