रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
केन्द्रका प्रमुख आयुर्वेद डा।विजय श्रेष्ठका अनुसार केन्द्रले उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीको समस्या, नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ ।
आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको भद्रपुर नगरपालिका–८ का किरन पोखरेलले बताए । ‘मेरो ग्यास्ट्रिकको समस्या छ, विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि अहिले दुई महिनादेखि नियमित यहाँ आएर उपचार गराइरहेको छु, खाना पनि रुच्न थालेको छ, यहाँ उपचार गराउन थालेपछि सुधार भइरहेको छ’, उनले भने ।
ढाडको समस्या भएर केन्द्रमा पूर्वकर्मरपञ्चकर्म गराइरहेका हल्दीबारीका विकास राजवंशी उपचार सुरु भएको केही दिनपछि दुखाइ कम हुन थालेको बताउँछन् । आयुर्वेदिक औषधिले स्वास्थ्यमा देखिएको सुधारका कारण यहाँका नागरिक आयुर्वेदप्रति आकर्षित हुन थालेका छन्




















