इटहरी : सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ । जिल्लाका ५० वटा परीक्षा केन्द्रबाट १३ हजार ६ सय बढी विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् ।
आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने एसइईका लागि नियमित र ग्रेडवृद्धि तर्फ गरेर १३ हजार ६ सय ६३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले बताउनुभयो ।
एसइईमा सामुदायिक ,संस्थागत, मदरसा र गुरुकुल गरेर सात हजार चौध जना छात्र र छ हजार छ सय ४९ जना छात्रा परीक्षामा सहभागी हुने प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
सुनसरीमा प्राविधिक धारतर्फका नियमित चार सय १७ जना परीक्षर्थी रहेका छन् । भने, छ सय ८८ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सुनसरीका सुचना अधिकारी रुद्र राईले बताउनुभयो ।
जिल्लामा यो वर्ष एसइई परीक्षा सञ्चालनका लागि ५० वटा केन्द्र निर्धारण गरिएका छन् । जसमा प्राविधिक धारतर्फका परीक्षार्थीका लागि सारदा माध्यमिक बिध्यालय इनरुवामा केन्द्र तोकिएको छ ।
जिल्ला भरीमा एक सय १७ वटा सामुदायिक, दुई सय चार वटा संस्थागत,सात वटा मदरसा र १ वटा गुरुकुल विद्यालयका परीक्षार्थीले एसइईमा सहभागिता जनाउने छन् ।




















