रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ ।  शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौंका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ ।  हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए । 

रुकुमपश्चिमबाट काठमाडौंका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले बताइन् ।  त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा बस्न नअटाउने भएपछि ४८ घण्टासम्म खाना नपाएर बिताएको यात्रुहरूले बताएका छन् । शनिबार दिनभरि मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । 

रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बागलुङ खण्डको दुई किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको उनले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाइएको थियो ।

 हिउँ पन्छाएपछि काठमाडौंका लागि रुकुमबाट छुटेका बस र रुकुमबाट काठमाडौंका लागि छुटेका बसलाई वारपार गराइएको छ । साथै दर्जनौँ बढी साना गाडीलाई पनि वारपार गराइएको रुकुमपूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिए ।   रासस