अनलाइन भिडियो कलिङ सेवाको अवधारणालाई स्थापित गर्ने जस पाएको ‘स्काइप’ बन्द हुने भएको छ । माइक्रोसफ्टले सन् २०११ मा ८.५ अर्ब डलरमा खरिद गरेको यो एप आगामी मे ५ गतेदेखि सधैंका लागि बन्द गर्ने कम्पनीले घोषणा गरेको छ ।
स्काइप बन्द गरेर माइक्रोसफ्टले आफ्नो भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘माइक्रोसफ्ट टिम्स’ लाई थप सुदृढ बनाउन ध्यान केन्द्रित गर्ने एसोसिएटेड प्रेसले जनाएको छ । स्काइप प्रयोगकर्ताले स्काइपकै खाताबाट टिम्समा लग(इन गर्न पाउनेछन् । सन् २०१६ मा ३० करोड सक्रिय मासिक प्रयोगकर्ता रहेको स्काइपमा सन् २०२३ मा आइपुग्दा ३ करोड ६० मा झरेको फोर्ब्सको समाचारमा उल्लेख छ ।




















