भारतको उत्तराखण्डस्थित चमोलीमा गएको हिमपहिरोमा हालसम्म ४ जनाको मृत्यु भएको छ।  दुर्घटनाको दोस्रो दिन शनिबार १७ जना कामदारलाई उद्धार गरिएको छ । यसअघि शुक्रबार ३३ जनाको उद्धार गरिएको थियो। जसमध्ये गम्भीर घाइते चार जनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ५ जना कामदार अझै बेपत्ता छन्।

दुर्घटना स्थानीय समयअनुसार शुकबार बिहान ७स्१५ बजे चमोलीको माना गाउँ नजिकै भएको थियो। मोली(बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा सीमा सडक संगठनका ५५ जना कामदार बसिरहेका थिए । त्यतिबेला हिउँको पहाड खसेको थियो। सबै कामदारहरू यसमा परेका थिए। लपत्र परेका ५५ जना मजदुरहरूमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्। १३ जना कामदारको ठेगाना उपलब्ध छैन।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज बिहान घटनास्थलको भ्रमण गरी कामदारहरूलाई भेटेका थिए । यसअघि प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीसँग कुरा गरेर उद्धार कार्यको जानकारी लिएका थिए। उता  हिमाचल प्रदेशमा भारी वर्षा र हिमपातका कारण राज्यका २१८ सडक र तीन राष्ट्रिय राजमार्गहरू बन्द गरिएको राज्यका राजस्व मन्त्री जगत सिंह नेगीले बताएका छन्।