कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका पहाडी जिल्लाहरूमा वर्षा भइरहेको छ भने हिमाली जिल्लाहरूमा भारी हिमपात भइरहेको छ । हिमपात र वर्षा शनिबार पनि जारी छ । लामो समयको खडेरीपछि हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ ।
हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँगै आएको वर्षातले किसानलाई राहत दिएको सर्केगाड गाउँपालिका हुम्लाकी उपाध्यक्ष देवकी तिमिल्सना बताउँछिन् । ‘समयमै पानी र हिमपात नुहँदा किसानका अन्नबाली सुक्नै लागेका थिए, हिजोदेखि निरन्तर परेर पानि र वर्षाले राहत भएको छ,’ उनले भनिन् । विशेष गरी कर्णालीको जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष भने ढिलोगरी हिउँ परेको जगदुल्ला गाउँपालिका डोल्पाका युवा भाष्कर बस्नेत बताउँछन् । ‘यहाँ यसरी हिमपात नभएको धेरै भएको थियो । हिजो बिहानै देखि निरन्तर हिमपात भइरहेको छ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘यसले गर्दा यार्सागुम्बा, जडीबुटी र खेतीपातीमा राम्रो प्रभाव पर्छ । कृर्षकहरु हर्षित छन् ।




















