जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक भूकम्पको क्षति विवरणबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ । भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको विज्ञप्तिमा उल्लेख छ । इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली बाहिर परिचालन गरिएको र अनुगमन कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ ।
हाल जिल्लाको अवस्था तथा जनजीवन सामान्य रहे पनि भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो, सडक माथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो




















