महा शिवरात्री हिन्दू धर्मावलम्बीहरूको लागि एक महत्वपूर्ण पर्व हो, जुन भगवान शिवको पूजा(अर्चना गर्ने विशेष दिन मानिन्छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ। यस दिन भगवान शिव र माता पार्वतीको विवाह भएको विश्वास गरिन्छ। शिव भक्तहरू यो दिन व्रत बसी, शिवलिंगमा जल, दूध, बेलपत्र अर्पण गरेर पूजापाठ गर्छन्।

नेपालमा महा शिवरात्री विशेषगरी पशुपतिनाथ मन्दिरमा भव्य रूपमा मनाइन्छ। देशभरका भक्तजनहरू मात्र होइन, भारतलगायत अन्य देशबाट समेत हजारौं श्रद्धालु पशुपतिनाथ दर्शन गर्न आउँछन्। साधु(सन्तहरूको ठूलो जमघट समेत हुने भएकाले यो दिन पशुपतिनाथ क्षेत्रमा विशेष चहलपहल देखिन्छ। यस दिन रातभर जाग्राम बस्ने, भजन(कीर्तन गर्ने, शिव पुराण सुन्ने तथा ध्यान गर्ने प्रचलन छ। कतिपय भक्तजनहरू यो दिन ब्रह्मचर्यको पालना गरी आत्मशुद्धि तथा ध्यानमा समय बिताउँछन्। शिवरात्रीको अर्को विशेष पक्ष भनेको भांग, धतुरो, चिलम आदि शिवजीलाई चढाउने परम्परा हो, जसलाई केही साधु(सन्त तथा भक्तहरूले उपभोग गर्ने चलन छ।

धार्मिक दृष्टिकोणले महा शिवरात्रीलाई अन्धकार र अज्ञानताबाट उज्यालो तथा ज्ञानतर्फ जाने अवसरका रूपमा लिइन्छ। भगवान शिवले सृष्टिको रक्षा गर्न ताण्डव नृत्य गरेका दिनका रूपमा पनि यसलाई सम्झिन्छ। यो पर्व आत्मसंयम, भक्तिभाव, धर्म, र अध्यात्मिक चेतनाको प्रतीक मानिन्छ।