महाशिवरात्रि पर्वको अवसरमा, इटहरीका विभिन्न  मन्दिरहरू विशेष रूपमा सजाइएका छन् । मन्दिर परिसरमा फूलमाला, दीप, रङ्गीन बत्तीहरूले सजावट गरिएको छ , जसले वातावरणलाई  आकर्षक बनाएको छ। यस अवसरमा, भक्तजनहरू व्रत बस्ने, पूजा गर्ने र रातभर जाग्राम बस्ने परम्परा निर्वाह गर्छन्। स्थानीय समुदायको सक्रियताले महाशिवरात्रि पर्वलाई अझ उल्लासमय बनाउँछ।

महा शिवरात्रि हिन्दू धर्ममा विशेष महत्व राख्ने पर्व हो। प्रत्येक वर्ष फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्ने यो पर्व भगवान् शिवको आराधना गर्ने विशेष अवसर मानिन्छ। यस दिन भक्तजनहरू व्रत बसी, रातभर जाग्राम बसेर शिव पूजामा सहभागी हुन्छन्। विशेष गरी पशुपतिनाथ मन्दिर, गुह्येश्वरी, हलेसी महादेवजस्ता शिवालयहरूमा भक्तहरूको ठूलो भिड लाग्छ। दूध, बेलपत्र, धतुरो, अक्षता आदि चढाएर भगवान् शिवको पूजा गरिन्छ।

यस पर्वको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व छ। शिवरात्रिका दिन ब्रह्मचर्य र ध्यानको विशेष महत्व रहन्छ। कतिपयले यो दिन भाङ, धतुरो आदिको सेवन पनि गर्ने गर्छन्।

यस पर्वलाई शिव र पार्वतीको विवाहको रातको रूपमा समेत मानिन्छ। साथै, यो दिन शिवजीले ताण्डव नृत्य गरेको विश्वास गरिन्छ। महा शिवरात्रिले भक्तजनहरूलाई धर्म, संयम, भक्तिभाव र आध्यात्मिक साधनाको प्रेरणा दिन्छ।