जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत एक महिनायता सो क्षेत्र तनावग्रस्त बन्दै आइरहेको छ ।    केबलकार निमार्ण गर्नुपर्ने र निर्माण गर्न नहुने पक्षबीच झडपको स्थिति बन्न थालेपछि ताप्लेजुङ प्रशासनले निषेधाज्ञा जारी गरेको हो । ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ ९क० बमोजिम निषेधाज्ञा आदेश जारी गरेका हुन् । 

आदेशमा भनिएको छ, ‘‘ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानिय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण भोली मिति २०८१–११–११ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि निम्नबमोजमको चार किल्लाभित्रको क्षेत्रमा लागु हुने गरी ।।।यो आदेश जारी गरिएको छ।’’

निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । आदेशको उल्लंघन गर्ने वा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूहउपर प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।