जनकपुरधामको एक सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो । दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुर स्थित किशोर फाउण्डेशन सुधारेकन्द्रमा बसिरहेका उनको बुधबार साँझ मृत्यु भएको हो ।

किशोर फाउण्डेशनका व्यवस्थापक संजिव शर्माका अनुसार घाँटीमा कफ जमेको जस्तो भई सास लिन समस्या भएपछि बुधबार बिहान ११ बजेतिर जनकपुरको समर अस्पताल लगिएको थियो । उपचारपछि चिकित्सकले निगरानीमा राख्नु भन्दै पठाएका थिए । दिउँसो पुनः समस्या भएपछि साढे ४ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको शर्माको दावी छ ।

प्रादेशिक अस्पताल जनकपुरका अकास्मिक कक्षका इन्चार्ज सरद यादवले भने उपचारको लागि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो । त्यस बेला अकास्मिक कक्षमा मेडिकल अफिसर राधे मण्डल र रमेश यादव डिउटीमा थिए । ‘राजकुमारलाई उपचारको लागि ल्याउँदा मृत्यु भइसकेको थियो,’ आकस्मिक कक्षका इन्चार्ज यादवले भने ।

स्थानीय महेशलाल यादवका अनुसार चार दिनअघि राजकुमारकी आमा सरस्वती देवीले छोरा भेट्न आएकी थिइन् । अनुहार मलिन देखेपछि आफूसँगै घर लैजान खोज्दा सुधार केन्द्रका सञ्चालकले ४र५ महिना राखे निको हुने भन्दै रोकेका थिए । परिवारजनले औषधि अत्यधिक सेवन गराउँदा ज्यान गएको आरोप लगाएका छन् ।