कलाकार मनोज गजुरेललाई अब महाराजाको भूमिकामा देख्न पाइने भएको छ । कमेडी टीभी शो ‘कमेडी दरबार’मा विजय बरालको ठाउँमा उनी महाराजाको रूपमा देखिने भएका हुन् । शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै मनोजको विषयमा जानकारी दिएको हो । २७ औँ एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने जानकारी कार्यक्रममा दिइयो । महारानीको रूपमा गौरी मल्ल भने यथावत् रहनेछिन् ।
कार्यक्रमको होस्ट समेत परिवर्तन हुने भएको छ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले सञ्चालन गर्दै आएको कार्यक्रम अब सजिना खनालले होस्ट गर्नेछिन् । सौन्दर्य प्रतियोगिता मिस सुप्रान्यासनल २०२४ की विजेता समेत रहेकी सजिनाले शोका निर्देशक समेत रहेका विक्की अग्रवालसँग मिलेर शो होस्ट गर्नेछिन् ।




















