खाली पेट बस्दा ग्यास्ट्रिक हुन्छ भनिन्छ तर पेट खाली हुन नसक्दा झन् ग्यास बन्न सक्छ। हामीले खाएको खाना राम्रोसँग पाचन भएर बाँकी आमाशयबाट आन्द्रामा जानुपर्छ। खाना पूरा पच्न कम्तीमा चारदेखि ५ घन्टा लाग्छ। कुचुकुचु वा आवश्यकताभन्दा बढी खाएमा राम्रोसँग पच्न सक्दैन। खाना पेटमै कुहिन्छ र ग्यास बन्छ। त्यही ग्यास यताउति सर्नुलाई गानो सर्नुु भनिन्छ।

कारणहरूः


-शरीरलाई चाहिनेभन्दा बढी खानु। जतिसुकै हल्का र प्राकृतिक आहार खाए पनि उकुसमुकुस हुने गरी खाएमा पेट चल्न सक्दैन। पाचन हुन पेट चल्नुपर्छ। पेट नचल्दा खाना कुहिन्छ र ग्यास बन्छ।

-खाना राम्ररी नचपाइ खानु। छिटोछिटो खाँदा पाचक रस कम हुन्छ, पाचनको काम अवरूद्ध हुन्छ र ग्यास बन्छ।

-खाना र पानी बीचको समयान्तर नमिल्नु।

-एक खाना र अर्को खानाको अन्तर कम हुनु। 

-गुण नमिलेका र एकैपटक धेरै परिकारका खाना मिसाएर खानु।

-धेरै चिल्लो, तारेभुटेका, बढी खुर्सानी, मसालेदार, अमिला र पुराना अचार, बासी वा एकै खाना पटकपटक तताएर खानु।

-फाइबर कम भएका मैदाजन्य खाना, जंक तथा फास्टफुड खानु।

-धेरै प्रोटिन र बोसोयुक्त खाना खानु। 

-कब्जियत हुनु।

-धूमपान, सूर्तिजन्य र मदिरापान गर्नु।

-चिया, कफी, चिसो पेय धेरै खानु।

-दिउँसो खाना खानेबित्तिकै सुत्नु। राती ढिला सुत्नु र बिहान ढिला उठ्नु। राम्ररी निदाउन नसक्नु।

-खाना खानेबित्तिकै भारी व्यायाम वा धपेडी हुने काम गर्नु।

-तनाव र रिस, लोभ, मोह, डर, चिन्ता जस्ता अनुचित विचार हुनु।

-शारीरिक व्यायाम नहुनु।

-धेरै औषधि खानु।