इजरायल र प्यालेस्टिनी इस्लामी लडाकु समूह हमास बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
“इजरायलले आज हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ। सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,” प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, “सबै बन्धक परिवारलाई आईडीएफ ९सैन्य० सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन् ।”
शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ । गत जनवरी १९ देखि युद्धविराम लागु भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।




















