'एक्टर टेक वन’ शुक्रबारदेखि देशब्यापी रिलिज हुने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल डीसीएनले शुक्रबारदेखि प्रदर्शनमा आउने जनाएको छ । डीसीएनले सबै हललाई इमेल गर्दै शुक्रबारको लागि शो तय गर्न आग्रह गरेको छ । ‘फिल्म आजदेखि रिलिज हुँदैछ । सोहीअनुसार प्रदर्शन तालिका तय गर्नुहोला’ डीसीएनकी हेमा अधिकारीले हललाई लेखेको पत्रमा उल्लेख छ ।
चलचित्र विकास बोर्डले पनि चलचित्र संघलाई पत्र लेख्दै शुक्रबारदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको छ । निर्माताले विहिबार पत्रकार सम्मेलन गर्दै फिल्म शुक्रबारदेखि रिलिज हुने जनाएका छन् । एड्भान्स टिकट विक्री हलले आजैदेखि सुरु गरेका छन् । चलचित्र संघका महासचिव सुरेन्द्र थापाले बुकिङ आजैदेखि सुरु हुने बताए ।
एक्टर’ र ‘एक्टर स् वन’ फिल्मका निर्माताबीच विहिबार भएको सहमतिपछि रिलिजको बाटो खुलेको थियो । सहमतिमा ‘एक्टर’का निर्माताले काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दालाई फिर्ता लिने सहमति भएको थियो । ‘एक्टर’ फिल्मतर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले शुक्रबार अदालत खुल्ने वित्तिकै मुद्दा फिर्ता लिएर तामेलीमा राखिने बताए ।




















