नेपाली नागरिकले सगरमाथा आरोहणमा बुझाउने दस्तुर ७५ हजारबाट बढेर डेढ लाख पुगेको छ
काठमाडौँ — अब विदेशी नागरिकका निम्ति सगरमाथा चढ्दा लाग्ने खर्च बढ्ने भएको छ । सरकारले विदेशी आरोहीका लागि प्रतिव्यक्ति साढे पाँच लाखभन्दा धेरै दस्तुर बढाएको हो । यसअघि विदेशी नागरिकले नेपाल राष्ट्र बैंकले जारी गरेको शुक्रबारको सटही दर अनुसार १५ लाख १७ हजार ७ सय ८० रुपैयाँ दस्तुर बुझाउँथे । अब भने यस्तो दस्तुर २० लाख ६९ हजार ६ सय ७६ रुपैयाँ पुगेको छ ।
२०२४ को वसन्तकालीन सिजनमा सगरमाथामा ४ सय १९ जनाले अनुमति लिएका थिए । जसमध्ये विदेशी नागरिकको संख्या ३ सय ४३ रहेको थियो । पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौं पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीले बताए । यो नियम २०८२ भदौ १६ देखि लागू हुनेछ ।
नयाँ नियमले आधार शिविरभन्दामाथि दिसा पिसाबको व्यवस्थापनका लागि पर्वतारोही दलका सदस्यले जैविक रुपमा नष्ट हुने शौच थैली बायोडिग्रेडेबल पुप ब्याग को प्रयोग गर्नुपर्ने छ । आरोहणमा जाने सरदार, पर्वतीय पथ पदर्शक र उचाइमा जाने कामदार प्रत्येकको अब २० लाख रुपैयाँ र आधार शिविरका कामदारको प्रतिव्यक्ति १५ लाख रुपैयाँ बराबरको बिमा पनि अनिवार्य गर्नुपर्ने छ । यसअघि उचाइमा काम गर्नेको बिमा १५ लाख र आधार शिविरमा काम गर्नेको ८ लाख रुपैयाँ बराबरको बिमा गर्नुपर्ने नियम थियो ।
नयाँ नियम अनुसार हिमाल आरोहणमा जानेले आधार शिविरसम्म आफ्ना परिवारका सदस्यलाई पूर्वस्विकृति लिई लैजान पाउने छन् । तर परिवार सदस्यलाई बढीमा दुई रातमात्रै विभागले आधार शिविरमा बस्न अनुमति दिनेछ । अब हरेक ८ हजार मिटर अग्ला हिमाल आरोहणमा हरेक दुई जना आरोहीले दुई जना गाइड अनिवार्य लिनुपर्ने छ ।
नेपालले सगरमाथासहित ४ सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । सन् २०२४ को वसन्तयाममा पर्यटन विभागले हिमाल आरोहणबापत ६७ करोड ४७ लाख रुपैयाँ सलामी रकम संकलन गरेको थियो । यसमा सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख रुपैयाँ संकलन भएको थियो ।




















