सल्यानको वनगाड कुपिन्डे नगरपालिका – ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन्। प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो। आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो।

अनुसन्धानबाट पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। उनीहरूको चिनजान सामाजिक सञ्जालमार्फत भएको थियो, डिएसपी न्यौपानेले भने।