इटहरी । नेपाली काँग्रेस काेशी प्रदेशका सभापति तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हिजाे अपरान्ह आक्रमण गर्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई झापा  प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रेस युनियन झापा शाखाकाे वार्षिक साधारणसभा तथा वनभाेज कार्यक्रम फर्कने क्रममा शनिवार साँझ पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण भएको थियो। थापा सवार गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवारी गाडीलाई ओभरटेक गर्दा विवाद भएपछि त्यही गाडीभित्र रहेका प्राधिकरणका कर्मचारीले पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गरेका थिए।

आक्रमण गर्ने कर्मचारीको नाम भने प्रहरीले खुलाएको छैन। नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार विद्युत प्राधिकरणका कर्मचारीले उनीमाथि आक्रमण गरेका थिए ।  भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि उनीहरूले आक्रमण गरेको बताइएको छ।

कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको छ । उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।

थापाले आफ्नो ज्यानको कुनै पर्वाह नभए पनि नागिरकको ज्यानको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । यो घटनाले जिल्लाको फितलो शान्ति सुरक्षाको नमूना देखाएको उनले प्रतिक्रिया दिएका छन्।