धनकुटाको पाख्रीबासमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १ ज २६३९ नम्बरको उक्त पिकअप पाख्रीबास नगरपालिका(३ जौटारमा बिहीबार राति सवा ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । पाख्रीबास–हिले सडकबाट १ सय ५० मिटर तल खस्दा पिकअपका चालक र सहचालक दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मृत्यु हुनेमा चालक पाख्रीबास नगरपालिका(९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिराहा जिल्लाको लहान नगरपालिका(५ का प्रमोद मल्लिक रहेका छन् । सहचालक मल्लिकको घटनास्थलमा नै मृत्यु भएको थियो । यस्तै चालक तामाङको गम्भीर घाइते भएर जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ ।




















