पश्चिम नेपालको थारु बस्तीमा माघरमाघी पर्वको रौनक सुरु भएको छ । माघलाई नयाँ वर्षको रूपमा लिइने थारु समुदायमा पर्वको तयारी थालिएको हो । बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका प्रमुख तथा नेतृत्व चयन र माघी देवानी तथा भुरा खेलबारे समेत छलफल सुरु भएको हो । धनगढी उपमहानगरपालिका १६ भादाका भलमन्सा सन्त कुमार चौधरीले पुस महिनाको अन्तिम दिन हरेक थारु बस्तीमा सामूहिक सुँगुररबङ्गुरको जिटा ९मासु० काटिने प्रचलन रहँदै आएको सुनाए ।  माघीमा विशेष रूपमा खाने ढिक्रीको लागि चामलको पिठो पिसाउने, दुना टपरी गाँस्ने कार्य पनि चलिरहेको छ ।

पर्वसँगै थारु समुदायमा बस्तीका प्रमुखका रूपमा रहने बरघर, भलमन्सा, चिराकी, चौकीदारलगायत प्रतिनिधिहरू फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु भएको भादाका भलमन्सा चौधरीको भनाइ ।उनका अनुसार नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ ।  यसैबिच ग्रामीण भेगमा माघी मेलाको तयारी समेत भइरहेको छ । कैलाली, कञ्चनपुर जिल्लाका विभिन्न स्थान तथा धार्मिक क्षेत्रमा आयोजना हुने माघीको मेला र महोत्सवको तयारी थालिएको हो ।

कैलालीको कैलारी गाउँ गाउँपालिका ६ मा हरेक माघीमा आयोजना हुने माघी मेलाको तयारी अगाडि बढाइएको मेला आयोजक युवा जनज्योति क्लबका अध्यक्ष प्रकाश महतोले जानकारी दिए । यसैबिच गाउँघरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतले पनि माघी पर्वको रौनक सुरु गरेको छ ।