साताको अन्तिम कारोबार दिन सेयर बजार २५ सय ८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो ।

यस दिन विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढ्यो । कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर कारोबार रोक्का भएसँगै घटेको यो सेक्टर अघिल्लो दिनदेखि बढ्न थालेको हो । अघिल्लो दिन १.६ प्रतिशत बढेको थियो । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशत बढे । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशत घटे ।