सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी कोरोना भाइरस का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो ।
सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो । उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन युएनडब्लुटिओ को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ ।




















