मानिसमा ‘मंकीपक्स’ नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो एम्पक्स । विश्व स्वास्थ्य संगठन डब्लूएचओले यसलाई स्मलपक्स विफरकै एउटा प्रजाति भएको जनाएको छ । एम्पक्सको लक्षण देखिनेदेखि निको हुनेसम्मको अवधि पाँचदेखि २१ दिनसम्म रहने संगठनले जनाएको छ ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार यसका लक्षण दुईवटा चरणमा देखिन्छन्, सुरुआती चरणमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निने जस्ता लक्षण देखिन्छन् भने दोस्रो चरणमा बिमिरा आउने, विस्तारै बिमिराहरू पानीफोकाको रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ ।
एम्पक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छन् र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छ । विशेषगरी, टाउको, हत्केला, पैताला जस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ र केही दिनपछि आफैँ निको भएर जान्छ ।
तर, केही व्यक्तिमा भने यसले इन्सेप्लाइटिस, निमोनिया जस्ता जटिलता पनि निम्त्याउन सक्ने डा। पुन बताउँछन् । एम्पक्स जटिल अवस्थामा पुगेमा आँखामा संक्रमण भइ दृष्टी गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र संक्रमितको मृत्यु समेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । डब्लूएचओले भने एम्पक्स संक्रमित १० मध्ये एकजनाको मृत्यु हुनसक्ने जनाएको छ ।




















