पछिल्लो समय सुनसरीमा दैनिक सडक दुर्घटनाका घटना बढ्दै गएको छ । फराकिलो सडकले यातायातको सहजता र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पार्दै आए पनि यसले पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि गराएको छ।
चौडा र आधुनिक सडकमा सवारी चालकहरूले उच्च गति कायम गर्न खोज्दा दुर्घटनाको जोखिम बढेको देखिन्छ।पछिल्लो चार महिनामा ४३७ वटा सवारी दुर्घटना भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा परी सो अवधिमा २३ जनाको मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् ।
विशेषगरी, यातायात नियमको पालना नगर्ने, चालकको लापरवाही, र गति सीमा तोड्ने कारण दुर्घटना बढेको हो। फराकिलो सडकले पैदलयात्री र साना सवारी साधनका लागि चुनौती खडा गरेको छ।




















