राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दा आज अन्तिम सुनुवाइ हुँदैछ।

मङ्गलवार सरकारको भ्याकेटमा सरकारका तर्फबाट बहस भएको थियो । आज रिट निवेदकका तर्फबाट बहस सुन्दै सर्वोच्चले निर्णय सुनाउनेछ। हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । 

यसअघि दुवै पक्षको उपस्थित नभएपछि पेशीको जानकारी दिने आदेश सर्वोच्चले गरेको थियो । उक्त आदेशपछि रिट निवेदन र सरकार दुवैका कानुन व्यवसायी उपस्थित भएपछि सर्वोच्चले बिहीबारबाट सुनुवाइ थालेको थियो ।  

करिब एक महिनादेखि सर्वोच्चमा पेसी चढ्ने र सुनुवाइ नहुने हुँदै आएको उक्त भ्याकेटको निवेदनमा  बल्ल पालो आएको हो । अधिवक्ता रामबहादुर राउत र विमल पोखरेले समेतको रिटमा अन्तरिम आदेश जारी भएपछि सरकारले कात्तिक २० गते भ्याकेटको निवेदन दर्ता गरेको थियो । अन्तरिम आदेश खारेज नहुँदा राष्ट्रिय परिचयपत्रसहित नागरिकको एकीकृत तथ्याङ्कमा समस्या भएको दाबी सरकारले गरेको थियो ।