पछिल्ला दुई वर्षदेखि लसुन आयात अत्यधिक बढेको छ।  चालु वर्षमा हरेक महिना लसुन आयात उच्च छ। पछिल्लो दुई महिना कात्तिक र मंसिर मा मात्र तीन करोड किलो लुसन आयात भएको छ। विगतमा तीन वर्षमा हुने आयात बराबरको लसुन पछिल्लो दुई महिनामा मात्रै भएको हो।

चालु वर्षको पाँच महिनालाई आधार मान्ने हो भने, दिनको औसत दुई लाख ८० हजार किलो लसुन आयात भएको छ।पाँच महिनामा पाँच अर्ब ६४ करोड ७१ लाख रूपैयाँ बराबरको चार करोड २१ लाख तीन हजार किलो लसुन आयात भएको हो। चालु वर्षमा लसुन आयात १० गुणाले आयात मूल्यका आधारमा बढेको छ। गत वर्ष यो समयमा ५३ लाख किलो लसुन ७० करोड रूपैयाँमा आयात भएको थियो। गत वर्ष पनि लसुन आयात दोब्बरले बढेको थियो।

लसुन  छिमेकी देश चीनबाट आयात भएको छ। चीनबाट आयात हुने प्रमुख वस्तुहरूमध्ये लसुन अहिले पाँचौं नम्बरमा देखिएको छ। पाँच महिनाको अवधिमा चीनबाट एक खर्ब ३१ अर्ब रूपैयाँको वस्तु आयात हुँदा करिब पाँच प्रतिशत हिस्सा लसुनको मात्रै छ।