पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनक ल्याएको छ । विदेशी पाईलटले ल्याएको १५ वटा र नेपालमा भएको २ वटा गरी जम्मा १७ वटा बेलुन ९ दिन सम्म पोखराको आकाशमा उड्ने छन् ।अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो । बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा यही पुस ९ गतेदेखि सुरु भएको महोत्सव नौ दिनसम्म चल्नेछ । पोखरालाई साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।
‘हाम्रो मुख्य उद्देश्य साहसिक गतिविधिबाट अन्तर्राष्ट्रिय जगतमा पोखरालाई चिनाउने हो, मङ्गलबारदेखि सुरु भएको महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको सहभागिताले हामीलाई उत्साहित बनाएको छ’, उनले भने । उनका अनुसार महोत्सवको विशेष आकर्षणका रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान, पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्यालोकन, नाइट बेलुन ग्लो, बेलुनहरू रातमा झिलीमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौँको कुमारी नृत्य र बज्रयोगिनीलगायत छन्।




















