लामो समयदेखि बन्द रहेको रौतहटका छोटी नाकाहरू खुलाउन र छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन भएको छ। छोटी नाकाहरू भएर सवारी साधन आवागमन नहुँदा स्थानीय कठिनाइमा परेको भन्दै  विरोध प्रदर्शन गरिएको हो। छिमेकी बारा जिल्लाको छोटी नाकाहरू भएर चार पाङ्ग्रे सवारी साधन आवतजावत सुरु भएको १ वर्ष वित्नलाग्दा पनि रौतहटको सदरमुकाम गौर बाहेक नाकाबाट चार पाङ्ग्रे सवारी साधनमा रोक लगाइएको छ। आवागमन ठप्प हुँदा सदियौँ देखि चलिआएको दुईदेश बिचको रोटी बेटीको सम्बन्ध प्रभावित भएको छ।  कोरोना महामारीको समयदेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको थियो। पटकपटक स्थानीय स्तरमा सानो नाका खुलाउने विभिन्न दलका नेताहरू बाट भएको प्रयास सफल हुनसकेको देखिएन। 

रौतहट जिल्लाको २८ किलोमिटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ। २८ किलोमिटर लामो सिमानाको वारी नेपालमा बस्ने हजारौँ नागरिक दैनिक उपभोग्य वस्तुको खरिद देखी औषधि उपचार गराउन तथा बिहेवारिमा किनमेल गर्न सदियौँ देखि भारतीय बजार माथि निर्भर रहेका छन् ।