फिल्म तेल भिसाले तीन दिनमा १ करोड ३६ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मले आइतबारसम्म देशव्यापी रूपमा उक्त कमाइ गरेको वितरक करण श्रेष्ठले जानकारी दिए।
विपिन कार्की र वर्षा राउत अभिनीत यो फिल्मले पहिलो दिन राम्रो व्यापार गर्न नसके पनि शनिबारदेखि व्यापारमा सुधार देखिएको थियो। शनिबार काठमाडौंसहित मुख्य सहरमा कतिपय शो हाउसफुल भए। आइतबार र सोमबार पनि दर्शकको उपस्थिति उत्साहजनक रहेको वितरक श्रेष्ठले बताए। फिल्मका शीर्ष कलाकार विपिन र वर्षासहित निर्मात्रीसमेत रहेकी ऋचा घिमिरे काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। त्यसक्रममा यो फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
फिल्मको कथावस्तु, अभिनय मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन्। दर्शक प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ। वर्ड अफ माउथ राम्रो रहेकाले फिल्म लामो समयसम्म चल्ने विश्वास टिमको छ। तेल भिसाु लाई शंकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ। ऋचा र पूजाको यो कमब्याक फिल्म हो।




















