चालु आर्थिक वर्ष २०८१ र ८२ को पहिलो चौमासिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ । भन्सार विभागका अनुसार साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो ।

त्यस्तै निर्यातमा समेत सामान्य सुधार भएको छ । यस वर्ष पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो । कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो ।