सहकारी ठगी र संगठित अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार कास्की लगिँदैछ। मंगलबार बयानका लागि कास्कीबाट रूपन्देही  पुर्‍याइएका रविलाई बयान सकिएसँगै शुक्रबार कास्की नै फिर्ता गर्न लागिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डिएसपी लक्ष्मी खनालका अनुसार लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत कास्की पठाउन लागिएको हो। बिहान ७:४० फ्लाइट रहेपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम सफा नभएका कारण ढिलाइ भएको उनले बताइन्।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको  बचत हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा लगिएको थियो।जिल्ला सरकारी वकिलको कार्यालयमा तीन दिन गरी झन्डै साढे २३ घन्टा बयान लिइएको थियो।

मंगलबार ५ घन्टा, बुधबार झन्डै ८ घन्टा र बिहीबार झन्डै १० घन्टाको बयानमा लामिछानेलाई ७४ वटा प्रश्न गरिएको थियो।  लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले बयान लिएका थिए। लामिछानेसँग तीन दिनसम्म गोर्खा मिडिया र सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७४ वटा प्रश्न सोधिएको प्रहरीले जनाएको छ। अधिकांश प्रश्नमा लामिछानेले आफूलाई कुनै पनि जानकारी नभएको जबाफ दिएको बयानमा संलग्न अनुसन्धान अधिकृतले बताए।