साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

दुईपटक रोकिएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा नेपाल १० खेलाडीमा सीमित हुँदा पनि सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन्।

खेलको दोस्रो हाफ निकै तनावपूर्ण बनेको थियो।

नेपालकी फरवार्ड रेखा पौडेलले पहिलो हाफमा पहेँलो कार्ड पाएकी थिइन्। खेलको ५०औं मिनेटमा भुटानकी रेफ्री ओम चोकीले रेखालाई दोस्रो पहेँलो कार्ड देखाइन्। यसले नेपाल ४० मिनेटको खेल बाँकी रहँदै १० खेलाडीमा सीमित भएको थियो। सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी चोन्कीलाई फल गरेको भन्दै झन्डा उठाएकी थिइन्। जबकि, रेखाले चोन्कीसँग बल खोस्न जुझेकी थिइन्। भिडिओ रिप्लेमा रेखाले भारतीय खेलाडीलाई छोएको देखिँदैन। उनी बल प्रहार गर्ने क्रममा लडेको देखिन्छ। तैपनि सहायक रेफ्रीले फलको इसारा गरेपछि उनले रातो कार्ड पाइन्।

रेखाले रातो कार्ड पाएसँगै नेपाली खेलाडी र दर्शक आक्रोशित भएका थिए। नेपाली दर्शकले मैदानमा पानीका बोतल प्रहार गरे। यसले १० मिनेट खेल रोकियो। रेखाले रातो कार्ड पाएको १० मिनेटपछि नै भारतले पहिलो गोल गर्दै अग्रता लियो। भारतका लागि सब्स्टिच्युट खेलाडी संगीताले गोल गरेकी थिइन्।

खेलमा अग्रता लिएपछि भारतले धेरै बेरसम्म सेलिब्रेसन गर्‍यो। रेफ्रीले खेल सुरू गर्न आग्रह गर्दा पनि भारतीय खेलाडी नआएपछि नेपालले बल चलाएको थियो। प्रीति राईले त्यो बललाई गोलमा परिणत गरिन्। प्रीतिले प्रहार गर्दा मध्यमागमा रहेकी भारतीय गोलकिपर बल रोक्न कुदे पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो। त्यसपछि रेफ्रीले गोलको इसारासमेत गरेकी थिइन्। तर भारतले त्यो गोलको चर्को विरोध गर्‍यो। भारतको विरोधपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गर्दै गोल नभएको इसारा गरेकी थिइन्। त्यसपछि नेपालका खेलाडी, अधिकारीहरू र रंगशालामा उपस्थित दसौं हजार दर्शकले विरोध गरे। यसले दोस्रोपटक खेल रोकियो।

नेपालले आफूले गरेको गोल पाउनुपर्ने माग गर्दै धेरै बेरसम्म मैदान फर्कन अस्वीकार गरेको थियो। एक घन्टापछि सुरू भएको खेलमा नेपालकी साम्बाले बराबरी गोल फर्काइन्। उनले प्रीति राईको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् र जर्सी खोल्दै ठूलो खुसी मनाएकी थिइन्।

त्यसपछि खेलको ९० मिनेटसम्म कुनै गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा गयो। पेनाल्टीमा नेपालका साम्बा, गीता राना मगर, सविता राना मगर र अमिषा कार्कीले गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा कप्तान एन्जिला सुब्बाको सट्टा मैदान छिरेकी नेपालकी गोलकिपर अन्जनाले भारतकी कप्तान असलता देवीको पहिलो पेनाल्टी रोक्ने प्रयास गरिन्। उनको हातमा लागेको बल उछिट्टिएर पोलमा पुग्दा गोल हुन असफल भएको थियो।