सयपत्री फूल नेपाली संस्कृतिमा विशेष महत्व राख्छ। तर पछिल्लो समय प्लास्टिकको माला प्रयोगको बढ्दो चलनले यस फूलको सांस्कृतिक र आर्थिक महत्त्व घट्दै  गएको छ। दशैं, तिहार जस्ता प्रमुख चाडपर्वहरूमा विशेषगरी तिहारमा लक्ष्मीपूजा, भाईटीका, र देउसीभैलो खेल्ने परम्परामा सयपत्री फूलको माला अनिवार्य मानिन्छ। यसले हाम्रा पर्वलाई मौलिक र सुन्दर बनाउँछ भने धार्मिक दृष्टिकोणले पनि यसलाई शुभ मानिन्छ।

प्लास्टिकको माला सजिलो र दीर्घकालीन हुने भए पनि यसले सयपत्रीको मौलिकता, सौन्दर्य र संस्कृतिमा ह्रास ल्याइरहेको छ। प्लास्टिकका माला किन्न सजिलो भए पनि तिनले वातावरणमा दीर्घकालीन असर पुर्‍याउँछन्, किनकि यी सजिलै नबिग्रिने र नष्ट नहुने खालका हुन्छन्। यसले प्राकृतिक फूलको महत्व र हाम्रो सांस्कृतिक सम्पदामा नकारात्मक प्रभाव पारेको छ।

यसको साथै, सयपत्री फूलको व्यावसायिक खेती गर्ने किसानहरूलाई पनि नोक्सान पुर्‍याएको छ। प्लास्टिकका माला सस्ता भएकाले फूल खेती गर्ने किसानहरूको रोजगारीमा समेत संकट देखिएको छ। यसले नेपालजस्तो कृषि प्रधान देशमा फूल खेतीमा आधारित जीविकोपार्जनमा असर पुर्‍याएको छ।

त्यसैले, हाम्रो सांस्कृतिक, धार्मिक र वातावरणीय पक्षलाई ध्यानमा राख्दै सयपत्री फूलको प्रयोगलाई पुनर्जीवन दिन आवश्यक छ। प्लास्टिकको माला प्रयोग घटाउँदै सयपत्री फूलको माला प्रयोगमा जोड दिनु हामी सबैको कर्तव्य हो।