श्रीमतीकै मिलेमतोमा श्रीमान को हत्या भएको खुलेपछि हत्या आरोपमा प्रहरीले हत्याका मुख्य आरोपी एक भारतीय युवकलाई बुधबार पक्राउ गरेको छ । रक्सौलको परेवागाउँका २८ वर्षीय विजय गुप्तालाई दसगजा आसपासबाट राति १ बजे पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पुष्टि गरे । 

उनका अनुसार भारतीय प्रहरीको समन्वयमा घटनाको ११औं दिनमा गुप्ता पक्राउ परेका हुन् । घटनापछि आरोपीलाई पक्राउ गर्न प्रहरी उपरीक्षक महेन्द्र खड्का भारतीय समकक्षीसित सहयोग माग्दै आरोपीलाई पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक खड्काका अनुसार आरोपीले हत्या गरेको स्वीकार गरिसकेका छन् । मृतककी पत्नी मनिषाको मिलेमतोमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

मनिषा गत कात्तिक २ गतेदेखि नै प्रहरी हिरासतमा छन् । उनीहरुलाई कर्तव्य गरी हत्या गरेको कसुरअन्तर्गत अनुसन्धान भइरहेको उनको भनाइ छ । गत असोज २७ गते वीरगन्ज महानगरपालिका(३ छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारलाई हत्या गरी बाराको प्रसौनी गाउँपालिका(१ त्रिवेणी गाउँको त्रिवेणी खोलासँगै रहेको गण्डक नहर छेउमा हत्या गरी फालिएको अवस्थामा ६ दिनपछि कात्तिक २ गते शव फेला परेको थियो ।

मनिषाकी छिमेकी एक स्थानीयका अनुसार ६ दिनदेखि हराइरहेका युवक सोनारको खोजी कार्य गरिदिन भन्दै घटनाको भोलिपल्ट मनिषा र विजय दुवै जना सँगै पर्सा प्रहरी कार्यालयमा निवेदन दर्ता गराउन गएका थिए । उनका अनुसार विजय र मृतक वीरेन्द्र घरबाट सँगै मेला हेर्न बाइकमा निस्केका थिए । आरोपी विजय, मृतक वीरेन्द्र र उनकी पत्नी मनिषा वीरगन्ज घरमा सँगै बस्दै आएका थिए ।

‘हत्या आरोपी विजयले फोनमा ‘लोकेसन’दिएअनुसार वीरेन्द्र पत्नी आफैं शव खोज्न घटनास्थलतिर गएका थिए । तर विजयले दिएको ‘लोकेसन’ ठयाक्कै पुग्न नसकेपछि मनिषाले दोस्रो पटक विजयसित ‘लोकेसन’मागेकी थिइन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘विजय ‘लोकेसन दिँदै घटनाको पर्सिपल्ट ९असोज २९ गते भारततिर फरार भएका थिए ।’