रौतहटको परोहा नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ । करेन्ट लागेर घाइते दुवैको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
मृत्यु हुनेमा परोहा नगरपालिका–७ नरकटिया टोलका ३५ वर्षीया ललितादेवी साह र उनका १८ वर्षीय छोरा अर्जित साह रहेका जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा छोरालाई करेन्ट लागेको थियो । दुवैलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा बुधबार राति मृत्यु भएको प्रहरीले जनायो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय करेन्ट लागेर मृत्यु हुने घटना बढेका छन् । मधेसको ८ जिल्लामा २०७५ सालयता पाँच वर्षको अवधिमा करेन्ट लागेर ४ सय ४९ जनाको मृत्यु भइसकेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकरी दिएको छ । खेतमा पानी पटाउने, धारामा मोटर संचलन गर्ने र पोलको तार लत्रेर करेन्ट लागेर मृत्यु हुने घटना बढेको प्रहरीको जानकारी दिएको छ ।




















