नवरात्रीको पहिलो दिन, आज घटस्थापना,जसले दसैं पर्वको विधिवत् रूपमा सुरुवात गर्दछ। घटस्थापनालाई विशेष रूपमा देवी दुर्गाको आह्वानको दिन मानिन्छ, जहाँ देवीलाई शक्ति, साहस, र विजयको प्रतीक मान्दै उनको पूजा गरिन्छ। घटस्थापनाको दिन, हिन्दू परम्परामा वैदिक विधिअनुसार घर तथा मठ मन्दिरहरूमा घट कलश  स्थापना गरिन्छ, जसले धार्मिक दृष्टिकोणले महत्वपूर्ण अर्थ राख्छ।

यस दिन बिहानै उठेर स्नान गरी शुद्ध भई पूजा कोठा अथवा कुनै पवित्र स्थानमा विशेष तयारी गरिन्छ। पूजा स्थलमा शुद्ध माटोमा जौ, धान, र माटोको मिश्रण राखी त्यसमाथि जल भरेको कलश राखिन्छ। यो कलशलाई देवी दुर्गाको प्रतीक मानिन्छ। कलशको वरिपरि जमरा राख्ने प्रचलन छ, जुन पहेँलो धानको कोपिलाबाट उम्रने अंकुर हो। जमरा दशैंको महत्वपूर्ण अंग मानिन्छ, र यसलाई दसमीका दिन देवीको प्रसादको रूपमा टीका संगै लगाइन्छ।

घटस्थापनाको दिनदेखि नवमीसम्म हरेक दिन देवी दुर्गाको पूजा र आराधना गरिन्छ, जसलाई नित्य पूजा भनिन्छ। देवीलाई खुसी बनाउन, सपरिवार मिलेर बिहान बेलुका दुर्गासप्तशतीको पाठ गरिन्छ। दसैंको महत्त्वपूर्ण पक्ष भनेको परिवार र समाजसँगको सम्बन्ध मजबुत बनाउने हो। घटस्थापनाको दिनले दसैंको उत्सव सुरु भएको संकेत दिन्छ, जसमा शक्ति र विजयको प्रतीक देवी दुर्गाको पूजाअर्चना गरिन्छ