हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ।प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ ।
मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए । कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ । मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ




















