यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए । यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो ।

 अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्‍याउन गाडीहरू फर्किएर आउनै नभ्याउने उनको भनाइ छ । त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको सिटौला बताउँछन् । यद्यपि यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए ।

अग्रिम टिकट बिक्री बन्द गर्ने तयारीबारे यातायात व्यवस्था विभाग भने बेखबर छ । विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले यसबारे यातायात व्यवसायीले अहिलेसम्म केही जानकारी नगराएको बताएका छन् ।