भारी बर्षका कारण पानीजन्य रोगको जोखिम हुने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्सातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम बढी हुने जनाएको हो । यस्तो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

मन्त्रालयका अनुसार वर्षातमा बाढीका कारणले वरिपरिका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ । त्यसैले पानी उमालेर पिउनुका साथै पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउन सुझाइएको छ ।