देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । अहिले कोशी प्रदेशका धेरै ठाउँमा पानी परेको छ । दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आजदेखि आउँदो आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आइतवार बिहानसम्म सातवटै प्रदेशमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको हो । यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ । महाशाखाले तत्काल धान नकाट्न र ट्रेकिङमा नजान आग्रह गरेको छ ।
महाशाखाका अनुसार कोशी, प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । महाशाखाले रेड अलर्ट अर्थात् उच्च सावधानी अपनाउनुपर्ने भनेर सूचीकृत गरेको जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् ।
बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको महाशाखाले जनाएको छ ।
यस्तै उपल्लो वायुमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यस वर्ष अक्टोबर ७ अर्थात असोज २१ गतेसम्म मनसुन कायम रहने मौसमविदको अनुमान छ ।




















