भोली विश्वकर्मा पूजा आजै बाट इटहरीका बिभिन्न पसल,कलकारखाना, ग्यारेजहरू सजाइदै  छन् । विश्वकर्मा पूजा प्रत्येक वर्ष आश्विन महिनामा भगवान विश्वकर्माको पुजाअर्चना गरि मनाइन्छ । यो पूजा विशेष गरी कलकारखाना, सवारी साधन, मेसिन, उपकरण, र अन्य धातुजन्य वस्तुहरूको शुद्धिकरण र सुरक्षा गरिन्छ। मानिसहरू यस दिन आफ्नो सवारी साधन तथा औजारलाई सफा गरेर, मालाले सजाएर पूजामा समर्पण गर्छन्। यो पूजाले भगवान विश्वकर्माबाट आशीर्वाद प्राप्त हुने र काममा प्रगति, सुरक्षा, तथा समृद्धि हुने विश्वास गरिन्छ।

पूजाका क्रममा पुरोहितद्वारा विधिपूर्वक मन्त्रोचारण गरी भगवानको प्रतिमा राखी पूजा सामग्रीहरू—जस्तै दूबो, अक्षता, पुष्प, फलफूल, र मिठाईहरू चढाइन्छ। यस दिन विभिन्न कार्यालय, कलकारखाना र अन्य प्राविधिक क्षेत्रमा पूजा आयोजना हुन्छ। यस अवसरमा निर्माण तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूबीच उत्साह र श्रद्धा देख्न सकिन्छ।

यस दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मानिन्छ ।