हिमचितुवा एक दुर्लभ र सुन्दर वन्यजन्तु हो, जुन नेपालको हिमाली क्षेत्रमा पाइन्छ। यसको बिशेषता यसको बाक्लो, रौं, लामो पुच्छर र सानो कानहरू हुन्। यो करिब ६० सेन्टिमिटर अग्लो र १०० देखि १३० सेन्टिमिटर लम्बाई भएको हुन्छ। यसको वजन २५ देखि ५५ किलोसम्म हुन्छ।
हिमचितुवाको शरीरको रंग मुख्यतया सेतो, खरानी र कालो धब्बाहरूले भरिएको हुन्छ, जसले यसलाई पहाडका बर्फिला ढुंगामा लुकेर शिकार गर्न सहयोग पुर्याउँछ। यो प्राणी अत्यन्तै चालाक र चनाखो हुन्छ र यसको मुख्य आहारमा जङ्गली भेडा, बारल, नाउर र साना स्तनधारी प्राणीहरू पर्दछन्। हिमचितुवा एकान्तप्रिय जनावर हो र निकै फराकिलो क्षेत्रफलमा विचरण गर्दछ। यसको शिकार गर्ने तरिका पनि अत्यन्तै चुस्त र प्रभावकारी हुन्छ।
जलवायु परिवर्तन, शिकार र मानवीय गतिविधिले गर्दा हिमचितुवा अहिले सङ्कटग्रस्त अवस्थामा छ। अन्तर्राष्ट्रिय स्तरमा यसलाई संकटापन्नू प्रजातिको रूपमा सूचीकृत गरिएको छ र यसको संरक्षणका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
नेपाल सरकारले हिमचितुवाको संरक्षणका लागि हिमाली क्षेत्रमा विभिन्न संरक्षित क्षेत्रहरू स्थापना गरेको छ। यसबाहेक, स्थानिय समुदायसँग सहकार्य गर्दै हिमचितुवाको बासस्थानको संरक्षण र यसको शिकार घटाउने प्रयास गरिरहेको छ। हिमचितुवा संरक्षणको लागि जनचेतना अभिवृद्धि, पर्यटनबाट हुने आम्दानीको सही व्यवस्थापन र वन्यजन्तु अपराध नियन्त्रण गर्न आवश्यक छ।
नेपालको हिमालय क्षेत्र, विशेषगरी सगरमाथा, लाङटाङ, मनाङ र मुस्ताङ जस्ता स्थानहरूमा हिमचितुवा पाइन्छ। यी जनावरहरू ३००० मिटरदेखि ५००० मिटर उचाइसम्मका क्षेत्रमा बसोबास गर्छन्।
हिमचितुवा नेपालकै एक अनमोल सम्पत्ति हो र यसको अस्तित्व हाम्रो हिमाली पारिस्थितिक प्रणालीका लागि पनि महत्वपूर्ण छ। यसको संरक्षण हाम्रो जिम्मेवारी हो, ताकि यो सुन्दर वन्यजन्तु भविष्यमा पनि जीवित रहोस् र हाम्रो प्रकृतिको अभिन्न हिस्सा बन्न सकोस्।




















