सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसला गरेको छ ।
बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले त्यस्ता मुद्दा ६ महिनाभित्र फैसला हुन नसके उनीहरुलाई थुनामुक्त गर्नु भनी आदेश गरेको हो ।
सर्वोच्च अदालतले ६ महिनाभित्र पनि मुद्दाको फैसला नभएमा थुनामा रहेकाहरुलाई तारिखमा राखी मुद्दाको प्रक्रिया अघि बढाउनु भनी आदेश गरेको हो । यो आदेश अनुसार, धरौटी बुझाउन नसकेर थुनामा बसेका आरोपितहरु संलग्न भएको मुद्दा ६ महिनाभित्र फैसला गर्नुपर्ने भएको छ ।
धरौटी बुझाउन नसकेका थुनुवाहरु समयमा मुद्दाको फैसला नभए ६ महिनाभन्दा बढी थुनामा बस्न नपर्ने भएको छ । अदालतले थुनामा नै पठाउनु भनी आदेश गरेकाहरुलाई यो सुविधा हुनेछैन ।




















